काठमाडौं । मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी प्रोटोनले आफ्नो विद्युतीय सवारी ब्रान्ड ‘इमास’ अन्तर्गतको एसयूभी ‘इमास–७’ मार्फत ईभी बजारमा नयाँ उपस्थिति जनाएको छ । कम्पनीले सन् २०२४ मा इमास–७ सार्वजनिक गर्दै मलेसियालाई विद्युतीकरण गर्ने अभियानलाई अगाडि बढाएको थियो ।
इमास ब्रान्ड अन्तर्गतको यो मोडेल प्रोटोनको पहिलो इलेक्ट्रिक एसयूभी हो, जसलाई मलेसियाको राष्ट्रिय ईभीका रूपमा पनि प्रस्तुत गरिएको छ । यसमा ग्लोबल मोडुलर आर्किटेक्चर (GMA) प्लेटफर्म र आधुनिक विद्युतीय प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा पनि प्रोटोन इमास–७ औपचारिक रूपमा भित्रिसकेको छ । जगदम्बा मोटर्समार्फत सन् २०२५ मार्चमा काठमाडौंमा यसको सार्वजनिक लन्च गरिएको हो ।
नेपालमा उपलब्ध प्राइम र प्रिमियम दुवै भेरियन्टमा उच्च क्षमताको ब्याट्री र फास्ट चार्जिङ सुविधा समावेश छन् । प्रिमियम मोडेलमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ, जसले करिब ४१० किलोमिटर सम्मको रेन्ज दिन सक्षम रहेको कम्पनीको दाबी छ ।
डीसी फास्ट चार्जिङमार्फत ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २० मिनेट लाग्ने बताइएको छ । गाडीमा १५.४ इन्चको टचस्क्रिन, १६–स्पिकर अडियो सिस्टम, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ लगायतका प्रिमियम सुविधा समावेश छन् ।
इमास–७ ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा लिन सक्ने र यसको अधिकतम गति १७५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
प्रोटोनका अनुसार ब्याट्रीलाई सयौं पटक चार्ज–डिस्चार्ज गरे पनि लामो समयसम्म उच्च क्षमता कायम रहन सक्ने गरी डिजाइन गरिएको छ । साथै पानारोमिक सनरुफ, पावर टेलगेट, लेभल–२ एडास सुरक्षा प्रणाली लगायतका आधुनिक फिचर पनि यसमा उपलब्ध छन् ।
नेपालमा विद्युतीय सवारीको माग बढ्दै गएको अवस्थामा इमास–७ को आगमनलाई बजारमा नयाँ प्रतिस्पर्धा र प्रविधिगत विस्तारको संकेतका रूपमा हेरिएको छ ।


































