काठमाडौं । साउदी अरबको महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइनमा भएको आक्रमणले विश्व तेल बजारमा आपूर्ति जोखिम बढाएको छ। करिब १ हजार २०० किलोमिटर लामो पाइपलाइनमा क्षति पुगेपछि त्यसको पूर्ण मर्मतका लागि तीनदेखि पाँच सातासम्म लाग्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन्।
साउदी अरबले खाडी क्षेत्रबाट उत्पादन हुने कच्चा तेललाई देशको पश्चिमी तटस्थित यान्बु बन्दरगाहसम्म पुर्याउन यो पाइपलाइन प्रयोग गर्दै आएको छ। यान्बुबाट ट्यांकरमार्फत स्वेज नहर हुँदै युरोप तथा लाल सागरमार्फत एसियाली बजारमा तेल पठाइन्छ।
यसअघि साउदीले आफ्नो अधिकांश तेल हर्मुज जलडमरूमार्फत निर्यात गर्दै आएको थियो। तर इरानसँगको युद्धका क्रममा हर्मुज जलडमरूमार्ग बन्द भएपछि पूर्व–पश्चिम पाइपलाइन साउदीको वैकल्पिक निर्यात मार्गका रूपमा महत्वपूर्ण बनेको थियो। अहिले यही पूर्वाधारमा समेत आक्रमण भएपछि साउदीको तेल निर्यातमा थप दबाब परेको छ।
पाइपलाइनमा प्रमुख पम्पिङ संरचनासहित क्षति पुगेकाले मर्मतमा तीनदेखि पाँच साता लाग्न सक्ने अधिकारीहरूले बताएका छन्। यद्यपि, मर्मत अवधिमा पाइपलाइन आंशिक रूपमा सञ्चालन गर्न सकिने सम्भावना रहेको बताइएको छ। तर त्यसबाट दैनिक कति परिमाणमा तेल पठाउन सकिन्छ भन्ने स्पष्ट भइसकेको छैन।
तेल आपूर्तिमा देखिएको जोखिमको असर अन्तर्राष्ट्रिय बजारमा समेत देखिन थालेको छ। सोमबार ब्रेन्ट क्रुडको मूल्य २.८ प्रतिशत अर्थात् २.९३ डलरले बढेर प्रतिब्यारेल १०७.५४ डलर पुगेको थियो। कारोबारका क्रममा यसको मूल्य १०९ डलर प्रतिब्यारेलसम्म पुगेको थियो।
नर्वेस्थित ऊर्जा अनुसन्धान संस्था रायस्टाड इनर्जीका अनुसार अगस्टको अन्त्यदेखि साउदीले उक्त पाइपलाइनबाट दैनिक औसत २६ लाखदेखि ४० लाख ब्यारेलसम्म कच्चा तेल ओसार्दै आएको थियो। पाइपलाइन पूर्ण रूपमा बन्द भए विश्व बजारबाट ठूलो परिमाणमा तेल आपूर्ति हट्न सक्ने संस्थाको आकलन छ।
यसबीच, लाल सागर र बाब अल–मान्देब क्षेत्रमा हुथी विद्रोहीको प्रभाव विस्तार हुँदा साउदीको तेल ढुवानीमा थप चुनौती देखिएको छ। हुथीहरूले रणनीतिक रूपमा महत्वपूर्ण ग्रेटर हनिश र लेसर हनिश टापुहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्, जसलाई यमन सरकारले पनि स्वीकार गरेको बताइएको छ।
साउदी अरब यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको पक्षमा रहँदै आएको छ भने हुथी समूहलाई इरानको समर्थन रहेको मानिन्छ। यही क्षेत्रीय द्वन्द्वका कारण पछिल्लो समय लाल सागरमा साउदीको तेल पूर्वाधार तथा ढुवानीमाथि निरन्तर सुरक्षा जोखिम बढेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का अनुसार इरानसँगको युद्धपछि साउदी अरबको दैनिक तेल उत्पादनसमेत उल्लेख्य रूपमा घटेको छ। गत वर्ष सेप्टेम्बरमा दैनिक करिब १ करोड ब्यारेल उत्पादन गर्दै आएको साउदीको उत्पादन अहिले करिब ६० लाख ब्यारेलमा झरेको बताइएको छ।
यसरी उत्पादनमा आएको गिरावटसँगै निर्यातका प्रमुख मार्गमा समेत अवरोध बढेपछि विश्व तेल बजारमा आपूर्ति थप कसिलो हुने र कच्चा तेलको मूल्यमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ।

































