कञ्चनपुर- उखु क्रसिङको सिजन नजिकिँदै गर्दा कञ्चनपुरका किसानहरू उखुको उचित मूल्य पाउने हो वा होइन भन्ने चिन्तामा छन्। उखु काट्ने र चिनी मिलसम्म पुर्याउने तयारी भइरहे पनि मूल्य निर्धारणमा अझै अन्योल कायम छ।
डिजेल र पेट्रोलको मूल्यमा भएको वृद्धिका कारण खेतीपातीको लागत बढेको किसानहरूको भनाइ छ। यसका साथै समयमा रासायनिक मल नपाउँदा उत्पादनमा समेत गिरावट आउने देखिएको छ। उखु उत्पादक हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्द ठकुरीले बढ्दो उत्पादन लागत र घट्दो उत्पादकत्वका कारण गत वर्षकै मूल्यमा उखु बेच्नुपर्दा किसानलाई घाटा हुने बताउनुभयो। किसानहरूले उत्पादन लागतलाई आधार मानेर यस वर्ष प्रतिक्विन्टल आठ सय रुपियाँ मूल्य तोकिनुपर्ने माग गरेका छन्।
सरकार, चिनी उद्योग र किसान प्रतिनिधिबीच मूल्य निर्धारणका लागि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन। बेलौरी नगरपालिका-६ का किसान दिनेश चौधरीले खेतीमा भएको ठुलो लगानीलाई ध्यानमा राखेर सरकारले मूल्य निर्धारण गर्नुपर्ने बताउनुभयो।
कञ्चनपुरमा वार्षिक करिब १२ हजार सात सय हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ। गत वर्ष जिल्लामा ४३ लाख क्विन्टल उखु उत्पादन भएको थियो भने यस वर्ष ४० लाख क्विन्टल उत्पादन हुने अनुमान गरिएको छ। गत वर्ष सरकारले प्रतिक्विन्टल ६९० रुपियाँ मूल्य निर्धारण गरेको थियो, जसमा ६२० रुपियाँ चिनी उद्योगले र ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराएको थियो। गत वर्ष किसानले करिब २८ करोड रुपियाँ सरकारी अनुदान प्राप्त गरेका थिए। जिल्लाको बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत उखु खेती नै हो।
































