काठमाडौं–कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन दैनिक रुपमा पठाउन निर्देशन दिएको छ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मातहतका सबै निकायलाई दैनिक प्रतिवेदन पठाउन निर्देशन दिएको हो। कोरोना भाइरस (ओमिक्रोन) को नयाँ भेरियन्ट जेएन–१ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको मन्त्रालयको भनाई छ ।
नेपालमा पहिलोपटक सोमबार ७ जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ भेटिएको थियो। साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थानहरु, मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु– मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।


































