काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको हाे ।
गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकललाई पत्राचार गर्दै बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने गरि राख्न निर्देशन दिएका हुन् ।
‘अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्य रुपमा गराउन पटक–पटक परिपत्र गरिरहेको छ’, परिपत्रमा भनिएको छ, ‘उक्त व्यवस्था अनुरुप सेवा लिएका बिरामीहरुको अभिलेख व्यवस्थित रुपमा राख्ने तथा सोको विवरण सार्वजानिक रुपमा देखिने गरी राख्ने, टाँस्ने तथा विद्युतीय बोर्डमा डिस्प्ले हुने व्यवस्था राख्न अनुरोध गरिन्छ ।’


































