काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा फाइनल प्रवेशका लागि आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ। दुवै टोलीका लागि यो खेल फाइनल पुग्ने निर्णायक अवसर हो।
सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो। उक्त खेलमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर २० बल बाँकी छँदै पूरा गरेको थियो। लुम्बिनी लायन्स यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।
अर्कोतर्फ, चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो। बुधबार सम्पन्न उक्त खेलमा प्रभावशाली प्रदर्शन गर्दै चितवनले काठमाडौंलाई प्रतियोगिताबाट बाहिर पठाएको थियो।
आजको खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। चितवन आफ्नो पछिल्लो जितको लयलाई निरन्तरता दिने योजनामा छ भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हार बिर्सेर पुनरागमन गर्ने लक्ष्यमा रहेको छ।


































