काठमाडौं । विद्युत् नियमन आयोगले घरायसी उपभोक्तालाई समेत समय र मौसमअनुसार फरक–फरक विद्युत् महसुल लागू गर्ने व्यवस्था गरेको छ। आयोगले जारी गरेको ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ मार्फत मौसमी महसुल दर अनिवार्य गरेको हो।
निर्देशिकाअनुसार अब नेपाल विद्युत् प्राधिकरण र बुटवल पावर कम्पनीले मौसमी दरसहितको नयाँ विद्युत् महसुल प्रस्ताव आयोगमा पेस गर्नुपर्नेछ। प्रस्तावमाथि सार्वजनिक सुनुवाइ गरेपछि आयोगले त्यसलाई स्वीकृति दिनेछ।
हाल उद्योग तथा व्यापारिक उपभोक्ताका लागि मात्रै समय र मौसमअनुसार फरक महसुल दर लागू हुँदै आएको छ। उनीहरूका लागि हिउँद र वर्षायाममा तथा पिक आवर, दिन र रातका आधारमा फरक–फरक दर कायम छ। अब यही प्रणाली घरायसी उपभोक्तामा पनि लागू गरिने भएको हो।
नयाँ व्यवस्थाअनुसार हिउँद र बर्खामा फरक महसुल दर हुनेछ भने बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म, साँझ ५ बजेदेखि राति ११ बजेसम्म र राति ११ बजेदेखि बिहान ५ बजेसम्म छुट्टाछुट्टै दर निर्धारण गरिनेछ।
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले उपभोक्तालाई पनि मौसमी दर लागू गर्न आवश्यक भएकाले निर्देशिकामार्फत यसलाई अनिवार्य गरिएको बताए। उनका अनुसार अब प्राधिकरण र बुटवल पावर कम्पनीले नयाँ महसुल प्रस्ताव तयार गरी आयोगमा पठाउनुपर्नेछ।
नेपाल विद्युत् प्राधिकरणले यसअघि नै मौसमी दर लागू गर्ने विषयमा अध्ययन गर्न समिति गठन गरिसकेको छ। प्राधिकरण सञ्चालक समितिले सञ्चालक अंशुकिरण शाहीको संयोजकत्वमा समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। सोही प्रतिवेदनका आधारमा नयाँ महसुल प्रस्ताव आयोगमा पठाउने तयारी प्राधिकरणको छ।
आयोगले महसुल दर कम्तीमा तीन वर्षमा पुनरवलोकन गर्नुपर्ने व्यवस्था पनि गरेको छ। यसअघि २०७७ असारमा लागू भएको विद्युत् महसुल दर करिब ६ वर्षसम्म पुनरवलोकन भएको थिएन। अब वितरण अनुमतिप्राप्त संस्थाले महसुल लागू भएको कम्तीमा तीन वर्षपछि पुनरवलोकनका लागि निवेदन दिनुपर्नेछ।
आयोगका अनुसार नयाँ महसुल निर्धारण गर्दा विद्युत् खपत वृद्धि, निर्यात रणनीति, सरकारको नीति तथा कार्यक्रम र उपभोक्ताको हितलाई समेत आधार बनाउनुपर्नेछ। प्राधिकरण र बुटवल पावर कम्पनीले आफ्नो वित्तीय अवस्था सन्तुलित रहने गरी नयाँ महसुल प्रस्ताव गर्नुपर्ने आयोगले जनाएको छ।

































