म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ्न थालेको छ ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्णमा हाल १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने २५५.५ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । नारच्याङ क्षेत्रमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको निलगिरि–१, ७१ मेगावाटको निलगिरि–२ र छ मेगावाटको रेलेखोला आयोजना सञ्चालनमा छन् । त्यसैगरी वडा नं ५ र ६ को सीमाक्षेत्रमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।
यसबाहेक नारच्याङको भालेबास क्षेत्रमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । सुपर घलेम्दी (९.१४ मेगावाट)र मध्य कालीगण्डकी (६६.५ मेगावाट)आयोजना निर्माणाधीन छ । आइएमई समूहले थप ६६ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी आयोजना अघि बढाउने तयारी पनि गरेको छ ।
ऊर्जा उत्पादनको केन्द्र अन्नपूर्ण
विसं २०७६ मा पाँच मेगावाट क्षमताको घलेम्दीखोला आयोजना सञ्चालनमा आयो । त्यसपछि मिस्त्रीखोला, निलगिरि–१, निलगिरि–२, घारखोला र रेलेखोला आयोजना सञ्चालनमा आए । दाना सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको घलेम्दी हाइड्रोका सञ्चालक प्रमोद श्रेष्ठले बताए।
जलविद्युत्ले फेरिएको नारच्याङ
करिब ४५० घरपरिवार र एक हजार ६०० जनसङ्ख्या रहेको नारच्याङमा अहिले आयोजनामा काम गर्न बाहिरबाट आएका कामदारको सङ्ख्या स्थानीय जनसङ्ख्याभन्दा बढी छ । गाउँमा जग्गाको मूल्य प्रतिरोपनी रु ३० देखि रु ३५ लाखसम्म पुगेको छ । वैदेशिक रोजगार र सहरतर्फ बसाइँ सरेका धेरै व्यक्ति गाउँ फर्किन थालेका छन् ।
पोखराबाट फर्केर होटल व्यवसाय सञ्चालन गरिरहेका टेकबहादुर पुनका अनुसार गाउँमै अवसर सृजना भएपछि बाहिर बस्नुपर्ने बाध्यता हटेको छ । स्थानीयले जग्गाको मुआब्जा, होटल व्यवसाय, कृषि, पशुपालन, ढुवानी, यातायात, निर्माण सामग्री आपूर्ति, ठेक्कापट्टा तथा सेयर लगानीबाट आम्दानी गरिरहेका छन् ।
पालिकाको आम्दानी बढ्दै
यसका अतिरिक्त आयोजनाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, सीप विकास, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रभा माध्यमिक विद्यालयमा पाँच वर्षदेखि हाइड्रो इन्जिनियरिङ विषयको अध्ययन सञ्चालन हुनु पनि त्यसकै परिणाम हो ।
स्थानीयले पूर्णलाभ लिन सकेनन्
प्रभावित क्षेत्रका बासिन्दाले जलविद्युत् कम्पनीहरूको सेयर खरिद गरेका छन् । मिस्त्रीखोला आयोजनामा मात्रै प्रभावित क्षेत्रका स्थानीयले १७ लाखभन्दा बढी कित्ता सेयर लगानी गरेका थिए । अन्य आयोजनाले पनि स्थानीयका लागि सेयर निष्काशनको तयारी गरिरहेका छन् ।
वातावरणीय चुनौती बढ्दै
नारच्याङका अविन चोचाङ्गीका अनुसार मिस्त्रीखोलामा पहिले प्रशस्त माछा पाइन्थ्यो । तर आयोजना सञ्चालनपछि पानी सुरुङमार्फत बग्न थालेपछि नदीमा जलचर देखिन छाडेका छन् । वडाध्यक्ष फगामीले पनि जलविद्युत् आयोजनाबाट आर्थिक र भौतिक लाभ भए पनि नदीका जलचर हराउन थालेको, परम्परागत पानीका मुहान सुक्न थालेको तथा वन्यजन्तुको आवतजावत घटेको बताए ।
स्थानीयका अनुसार खोलामा न्यूनतम पानी छाड्ने व्यवस्था भए पनि प्राकृतिक पारिस्थितिक प्रणालीमा असर देखिन थालेको छ । वातावरणीय प्रभावको नियमित अध्ययन र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने माग उठिरहेको छ ।
तातोपानी कुण्डको भविष्यप्रति चिन्ता
भुरुङ तातोपानीका अनिल हिराचनका अनुसार कालीगण्डकीको पानीको बहावमा परिवर्तन हुँदा तातोपानी मुहानमा असर पर्न सक्ने खतरा छ । स्थानीयहरूले आयोजनाको वातावरणीय प्रभावबारे थप सुनिश्चितता खोजेका छन् । तातोपानी कुण्ड अन्नपूर्ण गाउँपालिकाको पर्यटन र आन्तरिक आम्दानीको महत्त्वपूर्ण आधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवाज बलियो बनेको छ ।
विज्ञ र स्थानीय अगुवाहरूका अनुसार जलविद्युत्लाई केवल मुआब्जा र ज्याला मजदुरीमा सीमित नराखी स्थानीय अर्थतन्त्रको आधार बनाउनु आवश्यक छ । कृषि उत्पादनलाई आयोजनाको बजारसँग जोड्ने, ऊर्जा प्रयोगमा आधारित उद्योग स्थापना गर्ने, पर्यटन र जलविद्युत्लाई एकीकृत गर्ने तथा स्थानीय युवालाई प्राविधिक तालिम प्रदान गर्ने रणनीति अपनाउनुपर्ने सुझाव दिइएको छ ।
गाउँपालिकाले पनि जलविद्युत् विकासलाई समग्र आर्थिक रूपान्तरणसँग जोड्ने दीर्घकालीन नीति निर्माणको तयारी थालेको अध्यक्ष पुनले बताए । रोयल्टीबाट प्राप्त रकमलाई उपभोगमुखीभन्दा उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ ।





































