काठमाडौं। देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
काठमाडौं उपत्यकालाई जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ टाकुर्चेमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ। बागमती प्रदेशकै रसुवामा पनि बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि ठप्प छन्।
गण्डकी प्रदेशमा पनि सडक सञ्जाल प्रभावित भएको छ।
म्याग्दीको बेनी-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा पहिरो जाँदा यातायात सेवा रोकिएको छ।
यता नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरका बुलिङटार र बौद्धिकालीका विभिन्न स्थानमा पहिरो खसे पनि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यद्यपि उक्त सडकमा ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन्।
कर्णाली प्रदेशको अवस्था पनि उस्तै छ। हुम्लाका कर्णाली करिडोर र सिमकोट-हिल्सा सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा ठप्प छ। सम्बन्धित निकायहरूले अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास गरिरहेका छन्।


































