काठमाडौँ । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गर्ने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार समितिको बैठक बिहान सवा ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ।
बैठकको प्रारम्भमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ। उजुरीकर्तासँगको छलफल सम्पन्न भएपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।
समितिले सुनुवाइका लागि भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा र संयुक्त अधिराज्यका लागि प्रस्तावित गौरवशमशेर जबरालाई आमन्त्रण गरेको छ।
समितिले उजुरीमाथिको छलफल र प्रस्तावित राजदूतहरूको सुनुवाइमार्फत उनीहरूको नियुक्तिका सम्बन्धमा आवश्यक संसदीय प्रक्रिया अघि बढाउनेछ।




































