National life

युट्युबलाई पाठशाला बनाएर व्यावसायिक कृषिमा जम्दै दाङकी सुलोचना शेर्पा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२२ असार २०८३, सोमबार
895Shares
युट्युबलाई पाठशाला बनाएर व्यावसायिक कृषिमा जम्दै दाङकी सुलोचना शेर्पा
ncell

दाङ । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छिन् । 

पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ । कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको ढोका नढकढक्याई सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागती खेतीका आधुनिक विधि सिकिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरिन् । “मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ”, उनले भनिन् ।

सुरुआती वर्षमा उत्पादन कम भए पनि उनी निराश भएकी थिएनन् । बोटको नियमित हेरचाह, सिँचाइ र प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिए । त्यसको प्रति फलस्वरूप गत वर्ष सबै खर्च कटाएर करिब रु. एक लाख ५० हजार आम्दानी गर्न सफल भइन्

यस वर्ष भने बगैँचाका अधिकांश बोट फलले लटरम्म छन् । उत्पादन बढेकाले आम्दानी रु. दुई लाखसम्म पुग्ने अपेक्षा उनको छ । “गत वर्षभन्दा यसपालि धेरै राम्रो फल लागेको छ, मेहनतको प्रतिफल देखिन थालेको छ”, उनले भनिन् । 

अहिले उनले विभिन्न कृषिसम्बन्धी सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक सहयोग लिन थालेकी छिन्  । झोल मल, गोठे मल र गँड्यौला मलको प्रयोग गरेर प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइरहेकी छिन् । यसले उत्पादनको गुणस्तर सुधारिनुका साथै लागत पनि घटेको उनको अनुभव छ ।

सुलोचनाको बुझाइमा अहिले सूचना र प्रविधिको पहुँच गाउँसम्म पुगेको छ । त्यसलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।

उनको सफलताले आधुनिक प्रविधिको सही उपयोगले गाउँमै बसेर पनि रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । कुनै समय मनोरञ्जनका लागि चलाइएको मोबाइल आज उनका लागि खेतीको गुरु बनेको छ भने कागती बगैँचाले उनको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय लेखिदिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
895SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?