काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट, रणनीति र कार्यदिशा तय गर्ने उद्देश्यले तीन दिने कार्यक्रम गरेको छ।
संस्थाको कर्पोरेट कार्यालय बनेपाको आयोजनामा काठमाडौंस्थित रोयल बुटिक होटलमा “प्रोग्रेस रिभ्यू एन्ड स्ट्राटेजिक प्लानिङ मिट” सञ्चालन गरिएको हो। जेठ ६ गतेदेखि सुरु भएको उक्त कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
कार्यक्रममा बागमती र गण्डकी प्रदेशअन्तर्गतका ५७ शाखाका शाखा प्रबन्धक, उप–प्रदेश प्रमुख तथा प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।
पहिलो दिन संस्थाले हालसम्मको प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, प्रविधिमैत्री र उत्तरदायी बनाउने विषयमा छलफल गरिएको थियो। कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतले संस्थाको भावी दिशाबारे धारणा राखेका थिए।
त्यसैगरी, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेले संस्थागत सुशासन, वित्तीय साक्षरता र ग्राहक संरक्षणलाई थप मजबुत बनाउँदै सेवा गुणस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा तालिम तथा ग्राहक संरक्षण विभागका सुन्दर कुमार बोटले सहजीकरण गरेका थिए।
संस्थाले यो कार्यक्रमले आगामी कार्ययोजना थप व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।































