काठमाडौं । सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले भोलि (मंगलबार) जेठ ९ गतेदेखि नै माग पुरा नभएसम्म निरन्तर सबै जिल्लास्तरीय संघहरुमा ‘हामी आन्दोलनमा छौं’ भन्ने कालो व्यानर राख्ने, सबै सहकारी संघ÷संस्थाका कर्मचारीहरूले कालोपट्टी लगाएर कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने, तीनै तहका सरकारद्वारा आयोजित अन्तरक्रिया गोष्ठी, छलफल, तालिमलगायतका कार्यक्रमहरूमा सहभागी नभई भद्र अवज्ञा गर्ने घोषणा गरेको छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलका संयोजक ओमदेवी मल्लले सहकारी ऐन र नियमावली कार्यान्वयनका लागि धेरै मन्त्री, उपप्रधानमन्त्री तथा शीर्ष नेताहरूलाई भेट्दापनि आफ्ना कुराहरूको सुनुवाई नभएको भन्दै आफूहरूले पहिलोपटक शान्तिपूर्ण रूपमा आन्दोलन गर्न लागेको स्पष्ट पारिन् ।
कोरोना महामारी तथा रुस–युक्रेन युद्ध र राष्ट्रिय÷अन्तर्राष्ट्रिय अर्थतन्त्रमा आएको चरम मन्दीका कारण मुलुकको अर्थतन्त्र संकुचन हुँदा संविधानले प्रदत्त गरेको समाजवादोन्मुख अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको सहकारी क्षेत्रसमेत प्रभावित भएको राष्ट्रिय सहकारी महासंघ लिमिटेडले जनाएको छ।
नेपालमा ३० हजारभन्दा बढी सहकारी संघ÷संस्थामार्फत ७ खर्बभन्दा बढी पुँजी परिचालन भएको सहकारी क्षेत्रले वित्तिय क्षेत्रमा १७ प्रतिशत योगदान पुर्याएको सहकारी महासंघको दाबी छ।
१ लाखभन्दा बढीले प्रत्यक्ष र १० लाखभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको दाबी गर्दै सहकारी महासंघले नेपालको सहकारी अभियानले दक्षिण एसियाका अरू देशभन्दा राष्ट्रको विकास प्रकृयामा प्रभाव पारेको दाबी गरेको छ। ७३ लाख सदस्यहरू आवद्ध रहेको सहकारी अभियानमा ५६ प्रतिशत महिला सदस्य रहेको सहकारी महासंघले उल्लेख गरेको छ।
सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरित सञ्चालित केही सहकारी संस्थाहरूका सञ्चालक तथा व्यवस्थापकद्वारा बचत रकम अपचलन हुँदा त्यस्ता सहकारीमा संकट सिर्जना भएपछि सहकारी अभियानप्रति नै भ्रम सिर्ज
ना गरी सहकारीप्रति नै संशय पैदा भएकाले त्यस्ता व्यक्ति र संस्थाको सघन अनुगमन गरी कारवाहीको दायरामा ल्याएर बचतकर्ताको बचत सुरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने सहकारी महासंघ नेपालले माग गरेको छ।
सहकारी महासंघ नेपालले सदस्यको बचत रकम सुरक्षित गराउँदै साना तथा मझौला व्यवसायीलाई सहज रुपमा ऋण प्रवाह गर्ने वातावरण सिर्जना गराउन पछिल्लो परिस्थितिले निम्त्याएको समस्या र त्यसको समाधानका लागि संयोजन गर्ने उद्देश्यले नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको २०७९ चैत १२ गतेको २०५औं बोर्ड बैठकबाट सहकारी समस्या समाधान सहजीकरण कार्यदल गठन गरेको जनाएको छ।
उक्त कार्यदलको आयोजनामा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पार्दै चैत २० गते माइतीघर मण्डलामा २५ हजाभन्दा बढी सहकारीकर्मीलाई भेला गराएर राज्यलाई सहकारीका विषयमा संवेदनशील हुन आग्रह गरेको सहकारी महासंघ नेपालले बताएको छ।
सहकारी महासंघ नेपालले गठित कार्यदलले सत्तारूढ राजनीतिक दल र प्रमुख प्रतिपक्ष दलका सहकारी विभागका नेताहरुसँग सुझाव संकलन गर्ने, सरकारले सम्बोधन गर्नुपर्ने सहकारीका विषयहरुमा ७७ वटैं जिल्लाका सहकारीकर्मीसँग अन्तक्रियामार्फत १३ बुँदे मागपत्र तयार गरि २०८० बैशाख १५ गते पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानआकर्षण गराइएको जनाएको छ।
केही व्यक्ति÷समूहले सहकारीको ऋण नतिर्न खुलारुपमा अफवाह फैलाएको जानकारी भएकाले त्यस्ता अफवाहको पछाडि नलाग्न अनुरोध गर्दै त्यस्ता अफवाह फैलाउने र त्यसको पछि लागेर दायित्व नतिर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारवाही गर्न उक्त गठित कार्यदलले सरकारसँग माग गरेको छ।
सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुरुप सदस्य नै सहकारीका मालिक भएको बताउँदै नियमित संस्थाको कारोबार निगरानी गर्न, गलत भएको खण्डमा सर्तक गराउन, विशेष साधारण सभा आव्हान गर्न तथा कानुनी उपचार खोज्न आम सदस्य तथा बचतकर्ताहरुमा कार्यदलले अनुरोधसमेत गरेको छ।
कार्यदलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘सबै सदस्यले एकैचोटी बचत रकम माग गरेमा फिर्ता गर्न नसक्ने परिस्थिति सिर्जना हुने हुँदा सदस्यले संस्थाको वित्तिय वासलात र तरलता हेरी आवश्यकताको आधारमा मात्र बचत फिर्ता माग गर्ने र बचत गर्ने कार्यलाई समेत निरन्तरता दिइ संस्थालाई निर्वाद रुपमा संचालन गराउन सहयोग गर्नुहुन अनुरोध गरिन्छ।’
सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५मा व्यवस्था भएका सहकारी प्रवर्द्धनमा टेवा पुग्ने विषयहरू कार्यान्वयन गर्न आनाकानी गर्दै सरकार परिस्थितलाई जटिल बनाउन अग्रसर रहेकाले यस परिस्थितिमा सहकारी क्षेत्र दबाबमुलक शान्तिपूर्ण आन्दोलनको घोषणा गर्न बाध्य भएको कार्यदलले जनाएको छ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालद्धारा गठित सहकारी समस्या समाधान सहजीकरण कार्यदलले दबाबमूलक आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । जसमध्ये जेष्ठ ९ गते मंगलबारदेखि माग पुरा नभएसम्म निरन्तर सबै जिल्लास्तरीय संघहरुमा ‘हामी आन्दोलनमा छौं’ भन्ने कालो व्यानर राख्ने, सबै सहकारी संघ÷संस्थाका कर्मचारीहरूले कालोपट्टी लगाएर कार्यालयको दैनिक कार्य संचालन गर्ने, तीनै तहका सरकारद्वारा आयोजित अन्तरक्रिया गोष्ठी, छलफल, तालिमलगायतका कार्यक्रमहरूमा सहभागी नभई भद्र अवज्ञा गर्ने रहेको छ ।
यस्तै, आन्दोलनको अरु कार्यक्रममा जेठ १३ गतेभित्र सबै जिल्लामा पूर्वतयारी भेला तथा जिल्ला सहकारी संघका अध्यक्षको संयोजकत्वमा ‘जिल्लास्तरीय सहकारी समस्या समाधान सहजीकरण संयन्त्र’ गठन गर्ने, जेष्ठ १४ गते विहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा जुलुससहित मागपत्र बुझाउने पनि कार्यक्रम रहेको छ ।
त्यस्तै, जेष्ठ १६ गते विहान ११ः०० बजे सहकारी विभाग, नयाँ बानेश्वर काठमाडौं र सबै प्रदेशका सहकारी महाशाखामा सिठ्ठी जुलुस निकाल्ने, जेष्ठ १९ गते विहान ९ः३० देखि १२ बजेभित्र सहकारी विभाग नयाँ बानेश्वर काठमाडौं र सबै प्रदेश सहकारी महाशाखामा धर्ना दिने पनि कार्यक्रम सार्वजनिक गरिएको छ ।
यस्तै, जेष्ठ २१ गतेदेखि निरन्तर विहान ९ः३० बजेदेखि सहकारी विभाग नयाँ बानेश्वर काठमाडौं र सबै प्रदेश सहकारी महाशाखामा रिले अनसन गर्ने भएको छ । सातै प्रदेशमा जिल्लास्तरीय संयन्त्रको आयोजनामा निरन्तर रूपमा जिल्लास्तरीय संयन्त्रको नेतृत्वमा ‘सदस्यसँग संचालक कार्यक्रम’आयोजना गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, सहकारी अभियानले सरकारसमक्ष मागपत्र प्रस्तुत गर्दै कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धले राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्थतन्त्रमा आएको चरम मन्दीका कारण बैंक, वित्तिय संस्था तथा सहकारी क्षेत्रमा तरलता समस्या जटिल भएको जनाएको छ।
ऋण लगानी असुल नहुनु, सन्दर्भ ब्याजदरका कारण बैंकहरूसँग स्वस्थ प्रतिष्पर्धाको वातावरणमा प्रतिकुल असर पर्नु, बचत जम्मा हुनुको तुलनामा फिर्ता मागको चाप बढी हुनु साथै अनुचित नकारात्मक प्रचारका कारण सहकारी अभियानप्रति संशय पैदा भएको अभियानको भनाई छ ।
संविधानबाट निर्दिष्ट देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारी क्षेत्रले पुरÞ्याएको योगदान कसैबाट नछिपेको बताउँदै अभियानले करिब ३२ हजार सहकारी संघ÷संस्था, ७ खर्ब भन्दा बढी पुँजीको परिचालन, वित्तिय क्षेत्रमा १७% बढीको योगदान, १ लाखभन्दा बढी प्रत्यक्ष र १० लाखभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी साथै ७४ लाखभन्दा बढी आम नेपाली जनताहरु प्रत्यक्ष रुपमा सहकारीमा आवद्ध रहेको जनाएको छ।
सहकारी क्षेत्रमा देखिएको विद्यमान समस्यालाई गम्भिर रुपमा स्वीकार गर्दै समाधानका लागि राज्य र सहकारी अभियानको संयुक्त पहल अत्यावश्यक देखिएको अभियानले जनाएको छ।
सोही सन्दर्भमा सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएकै कतिपय व्यवस्था कार्यान्वयन हुन नसक्दा सहकारी क्षेत्रले हाल भोगिरहेका समस्या समाधान गर्न कठीन देखिएको र सहकारी अभियानले पटकपटक समस्या समाधानका खातिर सरकारका सम्बन्धित निकायहरुमा लिखित तथा मौखिकरूपमा गम्भिर ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान गर्न प्रभावकारी कदम नचालिएको अभियानको आरोप रहेको छ।
सहकारी अभियानले अनपेक्षित रूपमा अवहेलना र उपेक्षा सहँदै आएको पनि जनाएको छ । अहिलेको विषम परिस्थितिले निम्त्याएका समस्या र त्यसको समाधानका लागि सहकारी ऐन २०७४ र नियमावली २०७५ मा भएका प्रवर्द्धनात्मक व्यवस्थाहरू यथाशिघ्र कार्यान्वयनका लागि सहकारी अभियानले अघि सारेका मागलाई सरकारले सम्बोधन गर्न अनिवार्य भएको अभियानले बताएको छ।
अभियानद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘यसका लागि अभियान र सरकारबीच सार्थक वार्ता, छलफल हुनुपर्ने भएतापनि सरकारले सहकारीका समस्यालाई प्राथमिकतामा नराखेको अवस्था छ।’
सरकारले अभियानका मागहरू सम्बोधन नगरेसम्म विभिन्न संघर्षका कार्यक्रम गर्नुपर्ने ठहर गरी सहकारी अभियानको तर्फबाट सरकारले तल उल्लेखित मागहरू अविलम्ब पूरा गर्न सरकारसँग माग गरेको छ।
मागहरू ः
६) सदस्यहरुले सहकारी संस्थामा गरेको बचत सुरक्षाका लागि सहकारी ऐन, २०७४ को दफा ७९ र नियमावली, २०७५ मा व्यवस्था भए बमोजिम सहकारी संस्थाबाट ऋण लिई नतिर्ने मनसाय भएका ऋणीहरुको एकाघर सगोल परिवारको चल अचल सम्पत्ति रोक्का राख्न पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने।
१३) सहकारी संघ÷संस्थामार्फत कृषि पशुपंक्षी, उद्योग, कलकारखाना, जलविद्युत, पर्यटन, बिमा, स्वास्थ्य सेवालगायतका व्यवसाय संचालन गर्न अन्तरसम्बन्धित ऐनहरु तत्काल संसोधन गर्नुपर्ने।
पत्रकार सम्मेलनमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलका संयोजक मल्ल, सहकारी सम्वद्ध व्यक्तिहरू रामहरी बजगाईं, मनोज थापा मगर, ललित बिष्ट, रामशरण शर्मा घिमिरे, हरी पौडेल, केदार गोर्खालीलगायत उपस्थिति थिए ।


































