काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चामा रहेको अध्यादेश विषयमा मजाकको जवाफ दिएका छन् । उनले संसद् नभएका बेला राष्ट्रिय प्राप्तिमा ढिला हुने भएकाले अध्यादेश ल्याउनु परेको बताएका छन्।
आजदेखि सुरु भएको संसद्को अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपय समयमा राजनीतिक लाभ हानिको लेखाजोखा गरी संसद् प्रक्रियाको बन्दी बन्दा जनताका समस्या ओझेलमा पर्ने धारणा व्यक्त गरेका छन् ।
संसद्लाई छलेर किन अध्यादेश ल्याएको भनेर सोध्ने गरेको भन्दै ओलीले संसद् नचलेका बेला नै अध्यादेश ल्याउने समय भएको बताए।
प्रधानमन्त्री ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी १२, भूमि तथा वन सम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत संशोधन गरिएको बताए ।
‘अध्यादेश मार्फत एकै पटक यी कानुन संशोधन गरिएपछि, मिडियाकै शब्द सापटी लिएर भन्छु– सुशासन र व्यावसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको छ । यसबाट अब सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने छ’, प्रधानमन्त्रीको दाबी छ ।

































