काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन्।
'घुमौँ भरतपुर' भन्ने नाराका साथ सुरु गरिएको 'भरतपुर भ्रमण वर्ष, २०२४' को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताएका हुन्।
'चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्', प्रधानमन्त्री दाहालले भने, 'भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे-जति कामहरू भएका छन्। यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन्।'
दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए।
नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान छ दशमलव सात प्रतिशत र रोजगारीको क्षेत्रमा छ दशमलव नौ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताए।

































