काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनीय रूपमा गठबन्धन तोडेको जानकारी गराएका छन् ।
आज बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको आरोप लगाएका छन् । बुढानीलकण्ठमा भएको बैठकमा सामेल भएका काँग्रेस प्रमुख सचेतक रमेश लेखकले एक्कासि र विश्वास नै गर्न नसकिने गरी गठबन्धन तोडेको बारे सभापति देउवाले पदाधिकारी बैठकमा जानकारी गराएको बताएका छन् ।
उक्त ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनुभयो।
अब हामी प्रतिपक्षमा रमाउँछौँ। काँग्रेसले गठबन्धन नतोडेको भन्दै सभापतिले नयाँ रणनीतिले पार्टी अघि बढ्ने बताउनुभयो,’ लेखकले सभापतिको भनाइ उद्धृत गर्दै भने,‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौँ। अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौँ।’ उनले भने। गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै काँग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने उनले बताए।

































