काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह उपनिर्वाचनमा पार्टीलाई अमूल्य मतदान दिने मतदाताहरूप्रति आभार व्यक्त गरेका छन् ।
पार्टी अध्यक्ष प्रचण्ड’ले निर्वाचित सबै जनप्रतिनिधिहरूलाई बधाई दिँदै निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, जनमत निर्माणमा योगदान गर्ने जनसमुदाय, निर्वाचन आयोग र राष्ट्रसेवक कर्मचारी, सहित सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
प्रचण्डले भने, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रूपमा लिएको थियो। हामीले पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै यो निर्वाचनलाई हाम्रो आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा लिएका थियौँ।”
उनले पार्टीको विजयलाई उत्साहजनक सफलतालाई संकेत गर्दै निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट आफ्नो पार्टीले उत्कृष्ट सफलता प्राप्त गरेको दाबी गरेका छन् । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई पार्टीले उच्च सम्मान गरेको उनको टिप्पणी छ ।
नेपाली जनताको विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन र जनताको अवस्था बदल्न महत्त्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको उनले उल्लेख गरेका छन् । उनले भने, “हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, र आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ ।”

































