काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गतिमा तीव्रताका साथ अगाडि बढेको दाबी गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरोः युथ एन्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले समस्याहरूसँगै तिनको कारण पनि भएको भन्दै समाधानलाई औँल्याएर त्यसतर्फ सरकारले काम अगाडि बढाएको धारणा राखेका छन् ।
उनले भने, ‘हामीले थुप्रै मेडिकल कलेज बनायौँ, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ। कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन्।
आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठुलो परिवर्तन ल्याएको प्रधानमन्त्री ओलीले भनाई छ । उनले थपे, ‘हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सकको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतीक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनु भएको छ, यो अहिलेको समयको उपलब्धि हो ।
हामी भावनात्मक ढङ्गले चल्नुहुँदैन, अहिले जति पनि समस्याहरू छन्, ती विकासको गतिसँगै आएका हुन् । त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे ।

































