काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योग व्यवसायीहरुबीच भएको डेडीकेटेडरट्रक लाइनको बक्यौता सम्बन्धी विवादबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
इप्पानले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो समयमा विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेको र केही उद्योगहरूले यसको विरुद्ध अन्य उद्योगहरूले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरुलाई चिन्ता बढाएको उल्लेख गरेको छ ।
बर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी बर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भएमा यसले आयोजनाहरूको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको इप्पानको भनाई छ ।
सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरूले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितिले आयोजनाहरूको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निर्णयबाट र उद्योग व्यवसायीले पनि डेडीकेटेड र वक्यौतालाई लिएर अरू उद्योगहरूको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडि हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक रहेको इप्पानको सुझाव रहेको छ । यसकारण विधि सम्बद्ध ढङ्गबाट यसको समाधान गरी निजी क्षेत्रहरूको उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाइदिन इप्पानले आग्रह गरेको छ ।
साथै द्धिपक्षीयबीच छलफल र संवादमार्फत यथाशिघ्र समस्या समाधान गर्नका लागि इप्पानले दुवै पक्षलाई अनुरोध गरेको छ। अहिले दुवै पक्षबिच देखिएको संवादहीनता र द्वन्द्वको अवस्था अन्त्यका लागि पहल गरिदिन ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य सम्बद्ध सरकारी निकायहरूमा पनि इप्पानको तर्फबाट विशेष ध्यानाकर्षण भएको इप्पानले उल्लेख गरेको छ ।





































