काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा प्राधिकरणअन्तर्गतका ४७ कर्मचारी तथा कामदार बेपत्ता भएपछि नेपाल विद्युत् प्राधिकरणले उनीहरूका आश्रित परिवारका लागि तत्काल आर्थिक राहतसहितको प्याकेज घोषणा गरेको छ।
बाढीका कारण रसुवाका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारसमेत बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार मात्रै ४७ जना कर्मचारी र कामदार सम्पर्कविहीन छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई तत्काल राहत दिने निर्णय गरेको हो। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार राहतको उद्देश्य बेपत्ताको खोजी, पारिवारिक तथा सामाजिक संस्कार र दैनिक जीवनयापनमा सहयोग पुर्याउनु हो।
निर्णयअनुसार बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारमा कार्यरत कामदारका नजिकका हकवालालाई तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।
त्यस्तै, स्थायी कर्मचारीको हकमा थप आर्थिक सहयोगको विषयमा अन्तिम निर्णय नभएसम्म, वा बढीमा ६ महिनासम्म, सम्बन्धित कर्मचारीको तहअनुसार सुरु तलब स्केलको ५० प्रतिशत रकम मासिक निर्वाह खर्चका रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ। यो व्यवस्था भदौदेखि लागू हुने बताइएको छ।
बैठकमा मन्त्री श्रेष्ठले विपद्का कारण बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारप्रति राज्य र प्राधिकरण जिम्मेवार रहेको बताएका थिए। उनले तत्काल उपलब्ध गराइने आर्थिक सहयोगले परिवारको ठूलो पीडा पूर्ति गर्न नसके पनि कठिन अवस्थामा केही राहत पुग्ने विश्वास व्यक्त गरे।

































