काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ कार्यकारी निर्देशक पाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठले यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनलाई यसअघि उपकार्यकारी निर्देशकबाट निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
यसअघि प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य कार्यरत थिए । सरकारको अध्यादेशपछि शाक्य पदमुक्त भएपछि कार्यकारी निर्देशक पद रिक्त बनेको थियो । त्यसपछि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको वेबसाइटमा समेत श्रेष्ठलाई हाल निमित्त कार्यकारी निर्देशकका रूपमा उल्लेख गरिएको छ ।

































