काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रूपमा परिणाम आउन नसकेको बताए । ‘जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न पाएनन् ।
त्यस्तै, मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरेका छन् । ‘भनिन्छ डक्टरको व्यवहारले बिरामीको आधा रोग निको हुन्छ, त्यसै गरी तपाईँहरूको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस, ऊर्जा मिलोस्,’अर्यालले भनेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफ्नो जिम्मेवारी पुरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गरे। ‘तपाईँहरू जनतालाई सेवा गर्न पाउने जस्तो पवित्र कार्यमा सहभागी हुन पाउनु भएको छ । यो अवसरलाई भरपुर प्रयोग गर्नुहोला,’ उनले भनेका छन्
समापन कार्यक्रममा मरिन गाउँपालिका सिन्धुलीका रोजगार संयोजक पन्चमाया योन्जनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गरेको चार दिने कार्यक्रमले उत्साह थपेको अनुभूति सुनाएका छन् । तालिम पछि कार्यक्रममा प्रति अपनत्व महसुस भएको भनाई छ । त्यस्तै, थाहा नगरपालिका मकवानपुरका रोजगार संयोजक कुमार नेगीले तालिमले काम गर्नका लागि ऊर्जा मिलेको बताए।

































