काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी जस्तै बनेको आरोप लगाएका छन् ।
शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बैंकिङ क्षेत्रविरुद्ध भइरहेको आन्दोलन गलत भएको बताएका छन् ।
तर त्यसका लागि आधार बैंकहरुले पनि दिएको भन्दै उनले भने, ‘बैंक मिटर व्याजी होइन र ? तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको।’
बैंकहरुले धितोका कारण आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन नहेर्ने गरेको उनले बताए।
बैंकको व्याजदरमाथि पनि प्रश्न उठाएका छन् । सर्वसाधारण मात्र होइन, राष्ट्र बैंकबाट पनि सस्तो ब्याजमा रकम उठाउने गरेको भन्दै उनले धेरै ब्याज लिन नहुने बताए ।
उनले दुई पक्षीय सहमति विना ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने समेत बताएका छन् । ‘मैले ९ प्रतिशतमा लिएँ, अलि पछाडि १२ प्रतिशत पुग्यो, अलि पछाडि १४ प्रतिशत पुग्यो’ एमाले अध्यक्ष ओलीले भने, ‘ऋण यति लिएको छु भनेर तिर्न जाँदा खल्तीमा बोकेको त के, झोलामा बोके पनि नपुग्ने गरी हिसाब राखेको छ । के भयो भन्दा यसबेलादेखि यति दर बढ्यो ।’

































