काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा सरकार दबाबमा परेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन्।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् ।
राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको भन्दै उनले राजश्व संरचनामा परिवर्तनका कारण लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरेका छन् ।
उनले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन ।
त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ ।’ पछिल्लो समय अर्थतन्त्रमा सुधार आएको भएपनी पुरानै लयमा फर्कन केही समय लाग्ने उल्लेख गरेका छन् ।


































