काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको अवरोध चाडै अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको जानकारी दिएका छन्।
(आज) बिहीबार बिहान विराटनगरमा पत्रकाहरुसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान खोज्न सकिने समेत उल्लेख गरेका छन् ।
‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ,त्यो मिल्ने कुरो छैन’, मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए।
प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ,’ प्रचण्डले भने।

































