काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन आउनेगरि काम भएको बताएका छन् ।
आज सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास तथा योजनासँग सम्बन्धित विज्ञसहितको छलफलमा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको बताँएका छन्।
हरेक वर्ष पुरानै वर्षको ‘फोटोकपी’का रुपमा नयाँ बजेट आउने परिपाटीलाइ स्मरण गर्दै प्रधानमन्त्री दाहालले यसपटक सार्वजनिक बहसको केन्द्रिकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरिएको बताँएका छन्। सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावलाई केन्द्रिकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गरिने प्रधानमन्त्रीको भनाई छ ।
“सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ”, उनले भन,“यसपटक नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव सङ्केन्द्रित गर्छौं। नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ। त्यसलाई अन्तिमरूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसद्मा पढ्नुहुन्छ ।”
देशमा आर्थिक सङ्कट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्कटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताँएका छन् । “म सङ्कटका बेला प्रधानमन्त्री भएँ । देशलाई सङ्कटबाट मुक्त गर्न मैले लगातार कोसिस गरिरहेको छु”,। “तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी छलफल गरेका छौँ प्रधानमन्त्री प्रचण्डले भने।
छलफलमा विज्ञले योजना छनोट प्रक्रिया हचुवा र पहुँचमुखी हुने कुरा रोक्नुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना निर्माण गर्नुपर्ने, व्यापार, वित्त र विनिमयको उदारीकरणको चपेटामा पर्दै गएको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

































