काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका पूर्व विद्यार्थीहरूको संस्था ‘त्रिभुवन विश्वविद्यालय एलुम्नाई एसोसिएसन नेपाल’ (टीयूएएएन) ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई सम्मान गरेको छ ।
एसोसिएसनको गत साउन २६ गते शनिवार त्रिवि स्मृति भवनमा सम्पन्न पाँचौँ साधारण सभा समारोहमा उनलाई सो सम्मान गरिएको हो। उनलाई कार्यक्रमकी प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेकी थिइन् ।
सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको उच्च ओहदामा रही उनले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सो सम्मान प्रदान गरिएको एसोसिएसनका प्रदिप कुमार श्रेष्ठले बताए ।
सो अवसरमा श्रेष्ठसहित त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेर देशका विभिन्न क्षेत्रमा लामो समयदेखि कार्यरत रही योगदान गरिरहेका ११ जना व्यक्ति–व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
































