काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज पदभार ग्रहण गर्दै सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय गरेका छन् ।
यसअघिको सरकारमा समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका भण्डारीले सिंहदरबारस्थित सोही मन्त्रालयको पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् ।
मन्त्री भण्डारीले उद्योग मन्त्रालयले प्रदान गर्ने सेवा र यस क्षेत्रको विकासका लागि नेतृत्व तहबाट आफूले सम्पूर्ण सहयोग गर्ने भन्दै कर्मचारीलाई दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । भण्डारी योसहित चार पटक मन्त्री बनेका हुन्।


































