काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा ले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि आफ्ना अस्पतालमार्फत विपन्न नागरिकलाई दिँदै आएको निःशुल्क तथा छुट सुविधा बन्द भएको हल्ला भ्रामक भएको बताएका छन्।
मोरङ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीलाई हराएपछि सामाजिक सञ्जालमा प्रचारित भएको उक्त हल्लालाई खण्डन गर्दै डा. शर्माले फेसबुकमार्फत सूचना जारी गरेका छन्।
डा. शर्माले सेवाहरू सम्बन्धित वडा तथा जिल्लामा तोकिएको प्रक्रिया अनुसार उपलब्ध गराइरहेको जानकारी दिँदै, भ्रममा नपर्न सबैलाई अनुरोध गरेका छन्। साथै, आवश्यक जानकारीका लागि संस्थाका प्रतिनिधिसँग सम्पर्क गर्न सुझाव दिएका छन्।
नोबेल शिक्षण अस्पताल र काठमाडौं मेडिकल कलेजले मोरङका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् र आर्थिक रूपमा विपन्न बिरामीहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका छन्। डा. शर्माले निर्वाचन परिणामसँग जोडेर सामाजिक सेवा रोकिएको प्रचार नियोजित र भ्रामक भएको स्पष्ट पारेका छन्।

































