काठमाडौं। घर जग्गा व्यवसायमा आर्थिक मन्दीको प्रभाव झैँ न्यून हुन नसकेको तथ्याङ्कले देखाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार फागुन महिनामा ४९ हजार २८७ वटा घरजग्गा किनबेच भएको छ । सो अवधिमा ३६ हजार ७५१ वटा घरजग्गा रोक्का भएको छ भने २९ हजार १४१ वटा घरजग्गा फुकुवा गरेका छन् ।जुन गत वर्षको फागुन महिनाको तुलनामा भन्दा कमी हो।
फागुन महिनामा ४९ हजार घरजग्गा किनबेच हुँदा ४ अर्ब राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेखको तथ्याङ्क अनुसार फागुनमा देशभरका मालपोत कार्यालयबाट सेवा दिएवापत ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । देशभरका मालपोत कार्यालयबाट सेवा करवापत २५ करोड ६६ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ, पूँजीगत लाभकरवापत १ अर्ब २८ करोड ४८ लाख रुपैयाँ र अन्य विभिन्न सेवामार्फत् राजस्व संकलन गरेको छ । माघ महिनामा देशभर ५० हजार ९२१ घरजग्गाको कारोबार भएकोमा फागुनमा भने घरजग्गा कारोवार घटेको छ। राजस्व संकलनमा भने फागुन महिनामा वृद्धि भएको छ। माघ महिनामा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैंयाँ राजस्व प्राप्त गरेको थियो ।
https://aarthikvoice.com/archives/27722
फागुन महिनामा सबैभन्दा बढी इनरुवा मालपोत कार्यालयबाट घरजग्गा किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ६ वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, जनकपुरधामबाट १९ सय ९७ वटा, भद्रपुर झापाबाट १८ सय ५० वटा, बेबारी मोरङबाट १६ सय ४३ वटा, राजविराज सप्तरीबाट १३ सय ६५ वटा, जलेश्वर महोत्तरीबाट १२ सय ८४ वटा र मलंगवा सर्लाहीबाट ११ सय १४ वटा घरजग्गा किनबेच भएका छन् ।

































