काठमाडौं । काठमाडौंमा द्रुत बस सेवा सुरु भएकाे छ । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको हाे ।
संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका हुन् ।
द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा चल्ने छ ।
उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् ।
त्यस्तै यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले जनाएकाे छ ।
अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।
रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् ।

































