काठमाडौँ । प्रशिक्षार्थी चिकित्सकहरूले श्रम अधिकार, सेवा सुविधा र कार्यस्थलको अवस्था सुधारको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
चिकित्सकहरूले सात बुँदे माग अघि सार्दै इन्टर्न तथा आवासीय चिकित्सकको कार्यसमय श्रम ऐनअनुसार सीमित गर्नुपर्ने बताएका छन्। उनीहरूले दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी ड्युटी गर्न नपर्ने व्यवस्था लागू गर्न तथा सातामा कम्तीमा एक दिन अनिवार्य बिदा दिन माग गरेका छन्।
प्रदर्शनकारीहरूले सातामा ४८ घण्टाभन्दा बढी काम गराइए अतिरिक्त समयको भत्ता उपलब्ध गराउनुपर्ने, आवासीय चिकित्सकलाई सरकारले घोषणा गरेको नयाँ तलबमानअनुसार पारिश्रमिक दिनुपर्ने तथा इन्टर्न चिकित्सकलाई कम्तीमा अधिकृत छैटौँ तहसरहको सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
महिला प्रशिक्षार्थी चिकित्सकका लागि कानुनअनुसार तलबसहितको सुत्केरी बिदा सुनिश्चित गर्नुपर्ने र बिदापछि अध्ययन तथा प्रशिक्षणलाई निरन्तरता दिन सहज वातावरण मिलाउनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
यस्तै, प्रशिक्षार्थी चिकित्सकमाथि हुने सम्भावित श्रम शोषण तथा अन्य गुनासोको सुनुवाइ र अनुगमनका लागि चिकित्सा शिक्षा आयोग तथा नेपाल मेडिकल काउन्सिलको मातहतमा अधिकारसम्पन्न संयन्त्र गठन गर्नुपर्ने माग गरिएको छ। प्रत्येक मेडिकल कलेजमा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि विशेष समिति गठन गर्नुपर्ने विषय पनि उनीहरूले उठाएका छन्।

































