काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको सेयर सर्वसाधारणका लागि खुला गरेको छ। बैंकले ४८ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको जनाएको छ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीहरूले आवेदन दिन सक्नेछन्। बैंकका अनुसार, सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा आवेदन बुझाउनुपर्नेछ।
आवेदनमा आफूले कति कित्ता सेयर लिन चाहेको हो भन्ने विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
यसअघि बैंकले संस्थापक सेयरधनीहरूका लागि ३५ दिनको समयसीमा तोकेर सेयर बिक्रीको प्रस्ताव गरेको थियो। तर सो अवधिमा कुनै माग नआएपछि अब उक्त सेयर सर्वसाधारणका लागि खुला गरिएको बैंकले जानकारी दिएको छ।


































