काठमाडौं । सरकारले पछिल्ला वर्षमा गरिबीको संख्या घटेको जनाएको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको सरकारले नेपालको निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसंख्या घटेर १५.१ प्रतिशतमा झरेको जनाएको हो ।
जबकी आर्थिक वर्ष २०७५/७६ मा यस्तो गरिबीको संख्या १८.७ प्रतिशत हारहारी रहेको जनाइएको थियो ।
साथै, समीक्षा अवधिमा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १७.४ प्रतिशत रहेको छ । राष्ट्रिय योजना आयोग, २०७९ का अनुसार मानव विकास प्रतिवेदन, २०२१ अनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६०२ पुगेको छ। प्रतिवेदनअनुसार मानव विकासको विश्व श्रेणीमा नेपाल १४३ औं स्थानमा रहेको छ।
शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा बढ्दै गएको लगानीका कारण सामाजिक क्षेत्रका परिसूचकमा क्रमिक सुधार हुँदै गई मानव विकास सूचकाङ्क सन् १९९० देखि २०२१ सम्म वार्षिक औसत १.३४ प्रतिशतले बढेको छ।




























