काठमाडौं । नेपालमा विदेशी लगानीका लागि अनुकूल वातावरण नरहेको र प्रभावकारी रूपमा काम गर्ने अवस्था नभएको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। राजीनामापछि उनी नेपालबाट स्वदेश फर्किएका छन्।
फोलेको राजीनामापछि एनसेल सञ्चालक समितिले कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ। यसबारे कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी गराएको छ।
प्राधिकरणलाई पठाइएको पत्रमा भदौ ९ गतेदेखि फोलेको राजीनामा स्वीकृत गरिएको र नयाँ सीईओ नियुक्त नभएसम्म श्रेष्ठले कम्पनीको अधिकार संरचनाअन्तर्गत प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकार प्रयोग गर्ने गरी जिम्मेवारी सम्हाल्ने उल्लेख छ।
स्मार्टसेलको सम्पत्ति लिलामी प्रकरणमा सरकारले अख्तियार गरेको प्रक्रियाप्रति एनसेल असन्तुष्ट रहँदै आएको छ। सरकारले केन्द्रीय अनुसन्धान ब्युरोमार्फत धितो लिलामी गर्ने बैंक तथा लिलामी सकार्ने सेवा प्रदायकलगायतमाथि मुद्दा चलाउने तयारी गरेपछि नेपालमा काम गर्न कठिन भएको भन्दै फोलेले एक वर्ष नपुग्दै पदबाट बाहिरिएको बताइएको छ।
यसैबीच, सरकारले टंकमणि शर्मा नेतृत्वको प्रतिवेदन सार्वजनिक गरेर कम्पनीको गोपनीय अधिकार हनन गरेको दाबी गर्दै एनसेल सर्वोच्च अदालत पुगेको थियो। उक्त मुद्दामा सर्वोच्च अदालतले एनसेलको पक्षमा अन्तरिम आदेशसमेत जारी गरेको छ।
एनसेलले यसअघि अर्थमन्त्रीसँग विदेशी लगानीकर्ताबीच भएको छलफलमा पनि नेपालमा विदेशी लगानीकर्तामाथि सरकारी पक्षबाटै असहज व्यवहार भइरहेको गुनासो राखेको थियो।


































