काठमाडौँ। देशभर अण्डा उत्पादन घट्दै जाँदा र उपभोक्ता माग बढ्दै जाँदा अण्डाको भाउ फेरि उकालो लागेको छ। लेयर्स कुखुरापालक संघले फार्मस्तरको मूल्य परिमार्जन गर्दै आजदेखि लागू हुने नयाँ दर सार्वजनिक गरेको हो।
नयाँ व्यवस्थाअनुसार ठूलो अण्डाको मूल्य प्रति क्रेट ४६५ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दरभन्दा १५ रुपैयाँ बढी हो। त्यसैगरी, मझौला अण्डाको मूल्य पनि १५ रुपैयाँले बढेर प्रति क्रेट ४१५ रुपैयाँ पुगेको छ।
उत्पादन घट्नुका प्रमुख कारणमा कुखुरामा देखिएको रोग र बढ्दो गर्मीलाई लिइएको छ। किसानहरूका अनुसार अत्यधिक तापक्रमका कारण हुने ‘हीट स्ट्रेस’ ले कुखुराको उत्पादन क्षमतामा प्रत्यक्ष असर पुर्याएको छ। अर्कोतर्फ, नयाँ वर्ष आसपास बढेको पर्यटक गतिविधि र बजारमा खपत बढेकाले अण्डाको माग उल्लेख्य रूपमा उकालो लागेको छ। सीमावर्ती नाकामा कडाइ गरिँदा आयात घट्नुले पनि आन्तरिक बजारमा थप दबाब सिर्जना भएको छ।
मूल्य बढे पनि किसानहरूले अझै लागतअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन्। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार एउटा अण्डा उत्पादन गर्न झण्डै १९ रुपैयाँ १२ पैसा खर्च हुने गर्छ, जसअनुसार एक क्रेटको लागत करिब ५७४ रुपैयाँ पुग्छ। अहिलेको बिक्री मूल्य त्योभन्दा कम भएकाले नाफा लिन कठिन भइरहेको उनको भनाइ छ।
यसअघि मङ्सिर महिनामा अण्डाको मूल्य उच्च बिन्दुमा पुगेको थियो, जहाँ ठूलो अण्डा प्रति क्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँसम्म कारोबार भएको थियो। त्यसपछि घट्दै आएको मूल्य अहिले पुनः वृद्धि भएको हो।

































