काठमाडौं । वन्यजन्तुबाट कृषिमा हुने क्षति, जलवायु परिवर्तन र स्थानीय स्रोत–साधनको संरक्षणमा आधारित सात बुँदे माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र सरकबारबीच सैद्धान्तिक सहमति भएको छ ।
आइतबार माइतीघर मण्डलामा नगरप्रमुख भट्टराईको तर्फबाट पत्रकार सम्मेलन गर्दै सरकारसँग ७ बुँदे मागमा सैद्धान्तिक सहमति भएको जानकारी गराइएको हो ।
नगरप्रमुख भट्टराईले साउन ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा चरणबद्ध रुपमा सत्याग्रह गरेका थिए ।
वन तथा वातावरण मन्त्रालयको पहलमा श्रावण १५ र १७ गते दुई चरणमा ५ घण्टासम्म वार्ता भएको थियो ।
दुवै पक्षबीच बाँस, गाँजा जस्ता वनस्पतिको प्रयोगका लागि ४५ दिनभित्र भवन निर्माण कोड तथा मापदण्ड तय गरिने, सखुवा, खयर लगायत कुहिएर नष्ट भइरहेका काठको आर्थिक उपयोगबारे विज्ञ समिति गठन गरी अध्ययन सुरु गरिने, कोदो, गहत, आदि जस्ता रैथाने बालीलाई व्यवसायिकरूपमा प्रवर्द्धन गर्ने नीतिगत निर्णय गरिने, रैथाने स्रोतसाधनलाई सरकारी संरचनाभित्र प्राथमिकतामा राखी प्रयोगमा ल्याउने लगायत सहमति भएको छ ।

































