काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक ISO/IEC 27001:2022 को प्रमाणीकरण नवीकरण गरेको छ।
प्रमाणीकरण नवीकरणसँगै कम्पनीले बीमित, ग्राहक तथा अन्य सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधारप्रतिको प्रतिबद्धता थप सुदृढ गरेको जनाएको छ।
ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) सम्बन्धी विश्वव्यापी रूपमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय मानक हो। यसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान तथा मूल्याङ्कन गर्न, आवश्यक सुरक्षा उपाय लागू गर्न र तिनको प्रभावकारिता नियमित रूपमा समीक्षा तथा सुधार गर्न व्यवस्थित आधार प्रदान गर्छ।
यस मानकले सूचनाको गोपनीयता, अखण्डता र उपलब्धतालाई मुख्य आधारका रूपमा लिएको छ। गोपनीयताअन्तर्गत ग्राहकका व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील सूचनामा अधिकारप्राप्त व्यक्तिको मात्र पहुँच सुनिश्चित गरिन्छ। अखण्डताले सूचनालाई सही, पूर्ण र विश्वसनीय राख्दै अनधिकृत परिवर्तनबाट सुरक्षित गर्ने विषयलाई जोड दिन्छ। उपलब्धताले आवश्यक समयमा अधिकारप्राप्त प्रयोगकर्ताका लागि सूचना तथा सम्बन्धित प्रणाली उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्छ।
जीवन बीमा सेवामा ग्राहकका व्यक्तिगत विवरण, बीमालेख, भुक्तानी तथा दाबीसम्बन्धी अभिलेखको सुरक्षित व्यवस्थापन महत्वपूर्ण मानिन्छ। डिजिटल सेवाको विस्तारसँगै यस्ता सूचनाको सुरक्षा ग्राहकको विश्वास र सेवाको विश्वसनीयतासँग प्रत्यक्ष रूपमा जोडिएको कम्पनीको भनाइ छ।
सन नेपाल लाइफले सूचना सुरक्षालाई संस्थागत जिम्मेवारी र ग्राहकप्रतिको प्रतिबद्धताको अभिन्न अंगका रूपमा लिएको जनाएको छ। कम्पनीले आगामी दिनमा सूचना सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन, कर्मचारी सचेतना तथा प्रणाली र प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित, विश्वसनीय र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

































