काठमाण्डौ ।अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक कट अफ मूल्य आएको छ ।
धितोपत्र निकाष्कासन तथा मूख्य बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाए अनुसार कम्पनीको लिलामी सेयरको अहिलेसम्मको प्रारम्भिक कट अफ प्राइस १४६ रुपैयाँ रहेको छ । यद्यपि, अन्तिम नतिजा आउन बाँकी रहेको हुनाले यस भाउमा सामान्य मात्र तलमाथि हुन सक्ने कोषले जनाएको छ ।
पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।
यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो ।
सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।
कम्पनीले लिलाममा ल्याएको सेयर खरिदका लागि परेका सबै बोलकबोल आवेदनहरु तीन दिनदेखि खोल्ने कार्य जारी छ ।

































