काठमाडौँ । पोखरा भ्रमण वर्ष उद्घाटन क्रममा बेलुन पड्किएर घाइते भएका सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज कीर्तिपुर अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।
अर्थमन्त्रीको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा असर नदेखिएका कारण आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले एक विज्ञप्तिमार्फत जनाएको छ ।
साथै, अर्थमन्त्री पौडेलसँगै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने विज्ञप्तिमा उल्लेख छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदय रोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने देखिएको छ ।
शनिवार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए , त्यसपश्चात् उनीहरूलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो । ।

































