काठमाडौँ । यस वर्षको दशैं नजिकिँदै जाँदा सरकारले सर्वसाधारणलाई सहुलियत मूल्यमा खसी बोका र च्याङ्ग्रा बिक्री गर्ने तयारी अगाडि बढाएको छ । प्रत्येक वर्ष दशैं लक्षित गरेर खसी बोका बेच्दै आएको सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार परिमाणमा खसी बोका ल्याउने तयारी थालेका जनाएको छ ।
चाडपर्वमा व्यापारीहरूले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई रोक्न सरकारी खाद्य कम्पनीले हरेक वर्षको दसैँमा खसी बोका र च्याङ्ग्रा खरिद गरी राजधानीमा ल्याएर बिक्री गर्दै आएको छ । त्यसका लागि कम्पनीले खसी बोका तथा च्याङ्ग्रा खरिद गर्ने प्रादेशिक कार्यालयमा पत्राचार गरिसकेको जानकारी दिएको छ ।
यो वर्ष दाङ, मकवानपुर, नवलपुर र मुस्ताङ लगायतका ठाउँबाट खसी बोका र च्याङ्ग्रा खरिद गर्न पत्राचार गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । विभागका प्रमुख प्रमुख अनन्तराज पौडेलका अनुसार ५ सय च्याङ्ग्रा र एक हजार ५ सय खसी बोका ल्याउने तयारी थालेको आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।
विभागका प्रमुख पौडेलका अनुसार खसी बोकाको बिक्री सुरु हुने दिन र मूल्य निर्धारण प्रक्रिया टुङ्गो लाग्न बाकी रहेको जानकारी दिएका छन् । खसी बोका तथा च्याङ्ग्रा खरिद गरिने जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीयो) को अध्यक्षतामा गठित मूल्य निर्धारण समिति हुने र सोही समितिले स्थानीय बजार मूल्य र खरिद मूल्यको आधारमा मूल्य निर्धारण गर्ने प्रक्रिया भएको कारण त्यसबारेमा हालसम्म कुनै जानकारी नभएको उनको भनाई छ ।
''हाम्रो तयारी लगभग घटस्थापनाबाट बिक्री सुरु गरौँ भन्ने हो तर ठोस निर्णय हुन बाकी नै छ काठमाडौँको हकमा थापाथली स्थिति प्रादेशिक कार्यालयबाट नै गरिन्छ तर मूल्य निर्धारणको विषयमा सकेसम्म हामीले कम मूल्यमा सर्वसाधारणलाई खसीबोका र च्याङ्ग्रा उपलब्ध बनाऊ भन्ने हो सायद गत वर्षको भन्दा तुलनात्मक रूपमा केही बढ्न जाला तर धेरै महँगो पर्न नजाला ।'' पौडेलले भने
पोहोरको वर्ष खाद्य विभागले ३०० च्याङ्ग्रा खरिद गरेको थियो। च्याङ्ग्रा प्रतिकेजी एक हजार २२० रुपैयाँमा बिक्री गरेको थियो भने दाङबाट ४००, नवलपुरबाट ५०० र वीरजञ्जबाट ५०० गरी कुल १४ सय खसी बोका खरिद गरिएको थियो।































