काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएपछि एमाले नेता तथा पूर्व कोशी प्रदेश सांसद विमल कार्की निलम्बनमा परेका छन् ।
कार्कीलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ। कार्कीमाथि निलम्बन गर्ने निर्णय प्रदेश कमिटी बैठकले अनुमोदन गरेको हो । राजनीतिक गतिविधि र पार्टीको नीति विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा कार्कीलाई मंसिर १६ मा स्पष्टीकरण मागिएको थियो ।
‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्ति आइरहेको छ। त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने’ भन्दै एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए।
कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए। उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो । बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो, जसलाई पुस २७ र २८ मा बसेको प्रदेश कमिटी बैठकले अनुमोदन गर्यो ।


































