काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र पोखरामा भर्खरै सम्पन्न भएको ‘कन्दरा’ लाइभइन पोखरा इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरका रुपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ।
संगीत, ऊर्जा र अविस्मरणीय पलहरुले भरिएको रातमा नेपाली दर्शकहरुसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’को नारा लिएर आफ्नो सांगीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पुस २७ गते शुक्रबार प्रस्तुत गरेको कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम समापन गरेको छ। ‘पहिला घरदेश, अनि परदेश’को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनी एल्फा स्क्वायर ९एएसक्यू०ले जनाएअनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो।
यस कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सबै क्षेत्रका संगीतप्रेमीहरुलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा हर्षित बनेको जनाउनुका साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरु प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण रहेको बताए।


































