काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ७० खर्ब ८२ अर्ब रुपैयाँ पुगेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार १६ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले उक्त रकम बराबरको निक्षेप संकलन गरेका हुन्।
केन्द्रीय बैंकको तथ्यांक अनुसार असार १५ गतेको तुलनामा असार १६ गते बैंक तथा वित्तीय संस्थामा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। असार १५ गते बैंक तथा वित्तीय संस्थामा ७० खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो ।
यस अवधिमा वाणिज्य बैंकहरुमा कुल ६३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा ७ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर, निक्षेपमा यो वृद्धि भए पनि कर्जा प्रवाह भने अपेक्षाकृत सुधार देखिएको छैन। असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५५ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
यसमा वाणिज्य बैंकहरूको हिस्सा ४९ खर्ब ६२ अर्ब रुपैयाँ छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूले ६ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ । यस्तै, बैंकहरूको कर्जा र निक्षेपको अनुपातलाई जनाउने सीडि (क्रेडिट–डिपोजिट) रेसियो पनि घटेर ७७.७३ प्रतिशतमा आइपुगेको छ।
































