काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि भएको आक्रमणलाई अमानवीय र बर्बरतापूर्ण भन्दै कडा शब्दमा निन्दा गरेको छ।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै प्रदर्शनकारीहरूले देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि कुटपिट गरेका थिए। उक्त घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। देउवा दम्पत्ति अहिले पनि उपचाररत छन्।
उपसभापति पूर्णबहादुर खड्काले आइतबार जारी विज्ञप्तिमा ‘लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेका सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि भएको भौतिक आक्रमण निन्दनीय छ,’ भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले आक्रमणबारे स्पष्ट अभिव्यक्ति नदिएको भन्दै आलोचना भएको थियो। तर खड्काले हाल पार्टीले निरन्तर आफ्नो धारणा सार्वजनिक गर्दै आएको प्रष्ट पारेका छन्।
उनका अनुसार जेन–जी आन्दोलनका क्रममा भएको मृत्यु, खर्बौं मूल्यको संरचना नष्ट हुनु, सिंहदरबारदेखि संसद भवनसम्मका सम्पत्ति जलाउनु जस्ता घटनाहरू अकल्पनीय र दुःखद छन्। उनले सरकारले क्षतिको यथार्थ मूल्याङ्कन तत्काल गर्नुपर्ने मागसमेत गरेका छन्।
कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै संविधान, नागरिक अधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रको भावनामा कुठराघात भएको आरोप लगाएको छ।
खड्काले विद्यमान राजनीतिक परिस्थितिबारे कांग्रेस स्पष्ट धारणा बनाउँदै एकताबद्ध रुपमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याएका छन्।


































