काठमाडौं । सरकारले कोरोना बीमाको रकम नदिएको भन्दै नेपाल बीमक संघले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा दर्ता गरिएको छ। निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकार विरुद्ध (नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार काठमाडौं समेत) मुद्दा दायर गरेको हो ।
कोरोना बीमाको रकम माग गर्दै आइतबार सर्वोच्चमा १२ वटा निर्जीबन बीमा कम्पनीहरुले उक्त मुद्दा दायर गरेका हुन् । सरकारले आफनो दायित्व बापतको अझै ११ अर्ब बढीको कोरोना बीमाको रकम भुक्तानी गर्न बाँकी छ ।
बीमक संघका महासचिव अशोक कुमार खड्काले परमादेशसहित दर्ता गराएका रिट निवेदनको पेसी सोमबार (भदौ २४ गतेलाई) तोकिएको छ। कोरोना कालमा सरकारले साढे ३ अर्ब बढीको दायित्व सृजना भएको खण्डमा आफूले व्यहोर्नेले जनाएको थियो ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमा गराएका थिए । १ लाख ६५ हजार ५९ जनाले बीमितले दावी भुक्तानीको माग गरेका थिए । उक्त भुक्तानी माग अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र अन्य निर्जीवन कम्पनीहरुले जम्मा १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ दिनुपर्ने थियो ।
उक्त रकममध्ये ३ अर्ब ५० करोड रुपैयाँ प्राधिकरण, पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुको दायित्वमा थियो । बाँकी १२ अर्ब ३२ करोड बराबर रकम नेपाल सरकार अर्थात् अर्थ मन्त्रालयले दिनुपर्ने रकम हो । तर सरकारले हालसम्ममा १ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेको छ । अहिले कोरोना बीमा वापतको ११ अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाकी छ ।



































