काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को जिम्मेवारीमा माघव प्रसाद उपाध्यायलाई दिइएको छ ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्यायलाई चैत्र १४ गते बुधवार बसेको सञ्चालक समितिको ३०४औँ बैठकले सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो । उपाध्याय बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।
सिईओ उपाध्यायको वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको कार्यकाल हुनेछ ।
उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत छन् । विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा सकिँदै छ । साथै, सोही बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।































