काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार, बैंकले तीन महिनाको अवधिमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा २२.९२ प्रतिशतले बढी हो।
यस अबधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत बढेर ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेर ९० करोड ७६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५।३६ प्रतिशत बढेर ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ, सञ्चालन नाफा १०.४४ प्रतिशत बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ४५ करोड २३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५.७४ प्रतिशत बढेर ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ र कर्जा लगानी २।७२ प्रतिशत बढेर ४ खर्ब २१ अर्ब २५ करोड २० लाख रुपैयाँ प्रवाह गरेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता २२.९५ प्रतिशत रहेको छ । यस अवधिमा खराब कर्जा थोरैले बढेर ४.९८ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ बढेर १९.५१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ ।

































