काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ४६ दशमलव २६ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ६६ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ।
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ।
३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ।

































