काठमाडौँ। चाडपर्वका बेला यात्रु सुबिधा र सुरक्षा सुनिश्चित गर्न सरोकारवालाको बैठकले ६ बुँदे निर्णय गरेको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा मन्त्रालयका सचिव केशव शर्मासहित यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोबाइल्स एसोसिएसन र अन्य सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए।
बैठकले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र अन्य सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ। साथै, गुनासोको तत्काल समाधानका लागि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ। यस समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि रहनेछन्।
बैठकले चाडपर्वमा उपत्यका छाड्ने सवारी साधनको प्राविधिक जाँच गराउने र आवश्यकताअनुसार यात्रु सहायता कक्ष निर्माण गर्न नाडा लगायत संस्थालाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। साथै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति प्रक्रिया अघि बढाउने निर्णय पनि भएको छ।
ट्राफिक प्रहरीले आवश्यक सामग्री सहज रूपमा पाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद् मार्फत सहयोग उपलब्ध गराउने र आन्दोलनका क्रममा लुटपाट भएका हतियार तथा सामग्री सवारीसाधनमा ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय समेत बैठकले गरेको छ।
तर, दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा बैठकले कुनै निर्णय नगरेको छ। अघिल्ला वर्षमा यस विषयमा टिकट बुकिङ मिति सरोकारवालासँग छलफल गरेर तय गरिएको थियो।







































